कोरोना भगाउन दैलो अगाडि खनेर कालो टीका

 

अहिले थुप्रै घरको मूल ढोकाअगाडि खन्न थालिएको छ ।

कसैले मूल ढोकाअगाडि खन्दा कोइला निस्कने र त्यसको टीका लगाएमा कोरोनाको सङ्क्रमण नहुने हल्ला चलाएकै भरमा थुप्रैले ढोकाअगाडि खनेका छन् ।

सामाजिक सञ्जालमा समेत यसको चर्चा हुन थालेको छ । मूल ढोकाअगाडि खनेर कोइला खोज्ने क्रम अहिले देशका धेरै ठाउँमा चलिरहेको छ ।

धर्मगुरुले कोइला पठाइदिएका छन्, ढोकाअगाडि खनेपछि त्यो भेटिन्छ भन्ने हल्ला कसले चलायो थाहा छैन । तर मान्छेहरुले त्यसलाई पत्याएर खनिरहेका छन् ।

सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाका अध्यक्ष असीम थुलुङले यस्तो हल्लाको पछाडि नलाग्न सामाजिक सञ्जालबाट आग्रह गर्नुभएको छ ।

गाउँमा धेरैले ढोकाअगाडि खन्न थालेपछि सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले कार्यपालिकाको बैठक बसेर यस्तो भ्रमबारे आमनागरिकलाई कसरी बुझाउने भनेर छलफल नै गर्यो ।

महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराती भन्नुहुन्छ ‘मान्छेहरु भ्रमको पछाडि यति धेरै लागेका छन् कि घरका ढोकाअगाडि खनेर कालो टीका लगाउने क्रम चलिरहेको छ ।

यो भ्रम हो भन्दा पनि ढोकाअगाडि खन्ने क्रम नरोकिएपछि कसरी बुझाउने भनेर कार्यपालिकाको बैठकमा छलफल गर्यौं । बुझाउने प्रयास भैरहेको छ ।’

नेपालमा कुनै खास धर्म मानेमा कोरोनाको सङ्क्रमण नहुने तथा भएकाहरुको पनि निको हुने भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएपछि केही व्यक्ति पक्राउ समेत परेका छन् ।

कोरोनाले नेपालमा मान्छे मरेको, धेरैलाई सङ्क्रमण भएकोजस्ता भ्रम फैलाएर आतङ्क मच्चाउनेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

एउटा नगरपालिकाले कोरोना भाइरसबाट बच्न बोझो र बेसार खान आग्रह ग¥यो ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन त्यस्ता वस्तु खानु उपयुक्त भएपनि कोरोनाबाट बच्न यसले कस्तो भूमिका खेल्छ भन्ने वैज्ञानिक पुष्टि नभएकोले त्यस्ता सल्लाहलाई मिथ्या मान्नुपर्छ ।

नेपालमा मात्र होइन, संसारभरि नै यस्ता मिथ्याको खेती सुरु भएको छ ।

केही व्यक्ति वा समूह यस्ता भ्रम फैलाउन लागिपरेका छन् ।

कोरोनाको प्रकोपले धेरै मानिस आत्तिएकाले उनीहरुको भावनामा खेलेर मनोरञ्जन लिनेदेखि व्यवसायिक तथा कतिपय धार्मिक फाइदा लिने समूह पनि यस्ता भ्रम फैलाउन सक्रिय छन् ।

अहिले सामाजिक सञ्जालमा छालाको रङ्ग कालो भएकाहरुको कोरोना प्रतिरोधी क्षमता बढी हुने, धेरै कालो चिया वा मरिचपानी पिएमा कोरोना नलाग्ने, दाह्री पालेमा चाँडो कोरोना भाइरसले भेट्ने, फाइभ जी प्रविधिले कोरोना भाइरसको सङ्क्रमण सार्न भूमिका खेल्नेजस्ता भ्रमहरु धेरै फैलिने गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन, अनुसन्धानमा संलग्न विभिन्न संस्था र बीबीसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमहरुले यस्ता धेरै भ्रमहरुको यथार्थ परीक्षण गरेर त्यसमा कुनै वैज्ञानिक आधार नभएको बताइरहेका छन् ।

यस्ता भ्रमहरु कुनै व्यक्ति वा समूहले सुरु गर्छ र सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्ययम हुँदै धेरै मानिससम्म पुग्छ ।

सङ्कटको बेला त्यसबाट बच्ने उपाय भन्ने गरिएका झुटहरु डढेलोजस्तै फैलिन्छन् ।

लामो समयदेखि खोज पत्रकारिता गरिरहनुभएका मोहन मैनाली सङ्कटका बेला यस्ता भ्रमहरुको प्रचार धेरै हुने गरेको बताउनुहुन्छ ।

यस्ता भ्रमहरुको प्रकोप रोक्नका लागि व्यक्ति नै सचेत हुनुपर्ने उहाँ बताउनुहुन्छ । मैनाली भन्नुहुन्छ, ‘कोरोना भाइरस मानिसका लागि नयाँ हो । यसबारे भर्खर खोजी सुरु भएको छ ।

त्यसैले यसको बारेमा आएका कुराहरु हामीले झट्ट पत्याउनुहुन्न । विश्व स्वास्थ्य सङ्गठन, सरकारी निकाय वा यसको अध्ययन गरिरहेका विश्वासिला व्यक्ति वा संस्थाबाहेकबाट आएका कुराहरु सकेसम्म पढ्न तथा हेर्न हुँदैन । पढे र हेरे पनि पत्याउनुहुन्न’

सामाजिक सञ्जालको व्यापकताले पनि मिथ्या प्रचारहरु चाँडो फैलिरहेका छन् ।

धेरै मानिस सामाजिक सञ्जालमा त्यस्ता कुराहरु पढ्छन्, हेर्छन् र साझा गर्छन् ।

त्यसैले भाइरल बन्दै जाने त्यस्ता भ्रम र अफवाहहरु समाजमा प्रयोग पनि हुन थाल्छन् ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाको सङक्रमणसँग जोडिएका मिथ्या खबर र जानकारीले प्रकोपको रुप लिएको चेतावनी दिइसकेको छ ।

यस्ता भ्रामक प्रचारहरुले सङ्कट टार्न गरिएका प्रयासमा बाधा पुर्याइरहेका हुन्छन् ।

समाजमा कम शिक्षित मात्र नभइ शिक्षित भनिएका वा सामाजिक जीवन बाँचिरहेकाहरुले पनि भ्रामक जानकारीहरु सामाजिक सञ्जालमा साझा गर्ने गरेका छन् ।

समाजमा यस्ता कुराले समस्या ल्याउँछ भनेर बुझाउनुको सट्टा त्यस्ता व्यक्ति नै भ्रम र अन्धविश्वासको पछाडि दौडेको देख्दा अचम्म लागेको महाकुलुङ गाउँपालिकाका अध्यक्ष किराती बताउनुहुन्छ ।

समाजमा चिनिएका वा सार्वजनिक जीवन बाँचिरहेकाहरुले भनेका वा साझा गरेका कुराहरु धेरैले पत्याउँछन् ।

त्यसैले त्यस्ता व्यक्तिले अझ बढी सचेत भएर यो कुरा कहाँबाट आएको, यसमा कतिको सत्यता छ भन्ने विचार गर्नुपर्छ ।

खोजपत्रकार मोहन मैनाली भन्नुहुन्छ, ‘म ढाँट्नेहरुको हुलमा नमिसिउँ भन्ने भन्नुुपर्छ वा आफूले जे कुरा शेयर गर्न लागेको छु त्योभन्दा अगाडि एक/दुई पटक हेरेर यो कुरा साँचो हो कि होइन, यसले कस्तो प्रभाव पार्छ भनेर सोचिदिनु राम्रो हुन्छ ।

जहाँ जे भेट्यो त्यो शेयर गर्नु कसैको जिम्मेवारी पनि होइन भने आमनागरिकले गरेको विश्वासमाथिको घात पनि हो’

कोरोना भाइरसबारे विभिन्न अध्ययन भइरहेका छन् । तर अहिलेसम्म न यसको औषधि पत्ता लागेको छ न खोप नै तयार भएको छ ।

यो एउटा भाइरस भएकोले यसको निदान धार्मिक वा कुनै तन्त्रमन्त्रबाट नभइ वैज्ञानिक खोजबाटै हुन्छ र त्यसको लागि प्रयास भैरहेको छ ।

अहिलेसम्मको अध्ययनअनुसार आउँदो वर्षको मध्यभन्दा अघि खोप तयार हुने सम्भावना नरहेको वैज्ञानिकहरु बताउँछन् ।

त्यसैले कोरोनाबाट बच्न नियमित हात धुने, मानिस मानिसबीच दूरी कायम गर्ने, शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन नियमित खानपान र व्यायाममा ध्यान दिने तथा लक्षण देखिए स्वास्थ्यकर्मी तथा नजिकका सरकारी अधिकारीलाई खबर गर्नु नै उत्तम उपाय हो ।

प्रकाशित भएको : April 9th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु