दुर्भाग्य निम्त्याउनेहरूलाई बेलैमै चिनौं -ईश्वर पोखरेल

 

काठमाडौं,

नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले एकताकाबेला गरिएको सहमतिविपरीत पूर्व समूहभित्रको आबद्धताका आधारमा समिकरण बनाउन खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको बताएका छन्।

सोमबार ट्वीट गर्दै उनले सो अभिव्यक्ति दिएका हुन्।

त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई बेलैमै चिनेर खबरदारी समेत गर्न उनले आग्रह गरेका छन्।

उनले ट्वीटमा भनेका छन्-एकताकाबेला गरिएको सहमतिविपरीत पूर्व समूहभित्रको आबद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो। त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खबरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं !!

पछिल्लो समय नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच विवाद चुलिँदै गएको छ।

गत शनिबार दुई अध्यक्षबीच भेट भएको थियो। भेटमा प्रचण्डले प्रधानमन्त्री पद मागेको ओलीनिकट एक स्थायी कमिटी सदस्य बताएका थिए भने प्रचण्डले भने प्रधानमन्त्री दाबी नगरेको प्रचण्ड निकट स्रोतले बताएका थिए।

आइतबार खुमलटार भेलामा प्रचण्डले दुई अध्यक्षबीचको भेटलाई ब्रिफिङ गर्दै ओलीले पार्टी फुटाउन चाहेको बताएका थिए।

यसैगरी, नेकपा महासचिव विष्णु पौडेलले पनि आइतबार ट्वीट गर्दै नेकपाको पछिल्लो विवादले पार्टीमा गम्भीर संकट उत्पन्न भएको बताएका थिए।

अन्तिम पटक अपडेट गरिएको : November 8th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु