नेकपा झगडा सामाजिक संजालमा छताछुल्ल पार्टी एकता धरापमा

 

काठमाडौं

सत्तारुढ दल नेकपाभित्रको आन्तरिक कलह सामाजिक संजालमा छताछुल्ल भएको छ। वरिष्ठ नेताहरूले नै फेसबुक र ट्‌वीटरमा स्टाटस पोस्ट गर्दै आन्तरिक झगडालाई थप चर्काएका छन्। स्थायी समिति बस्‍न नसकिरहेको अवस्थामा नेताहरूले सामाजिक संजालमा सक्रिय हुँदै एउटा पक्षले अर्को पक्षलाई प्रहार गर्ने र वचाउ गर्ने काम गरेका छन्।

उपप्रधानमन्त्री एवम् नेकपाका नेता ईश्वर पोख्रेलले सोमबार ट्‌वीट गर्दै पार्टी विभाजनको दिशाामा उन्मुख भएको चिन्ता व्यक्त गरेका छन्। एकताका बेला गरिएको सहमति विपरित समिकरण बनाउँदा पार्टी विभाजनको दिशामा उन्मुख भएको उनको भनाइ छ। उनले व्यक्तिगत स्वार्थका कारण विवाद भएकाले पार्टी एकतालाई बचाउनका लागि क्रियाशील हुन सबैलाई आग्रह पनि गरेका छन्।

उनले ट्‌वीटरमा लेखेका छन् ‘एकताका वेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो।त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खबरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं।’ त्यसैगरी एमाले नेता भीम रावलले विधि,प्रणाली र संस्थागत निर्णयको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपाविरुद्धको अपराध हुने बताएका छन्। उनले ट्‌वीटरमा लेखेका छन्, ‘पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हुन्।स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस् ।यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपा विरूद्धको अपराध हुनेछ।समझदारी,एकता र देशहित मनमा राखी समस्या समाधान गरौं।’

नेकपा महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलले आइतबार फेसबुक स्टाटसमा पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको बताएका थिए। उनले लेखेका छन्,‘पार्टी एकता सम्पन्न भएसँगै हाम्रो सामु दुई वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित थियो। तर, आजसम्म आईपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ। यतिबेला पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको छ।’ महासचिव पौडेलले लेखेका छन्,‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन। तसर्थ आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु।’

त्यस्तै अर्का नेता गोकर्ण विष्टले देश र जनता भन्दा नेता ठूलो, पार्टी भन्दा गुट ठूलो ठान्ने प्रवृत्तिविरुद्ध आक्रोश व्यक्त गरेका छन्। उनले सोमबार ट्‌वीटरमा लेखेका छन्, ‘देश र जनता भन्दा नेता ठूलो, पार्टी भन्दा गुट ठूलो ठान्ने प्रवृत्तिलाई सच्याएर मात्रै आन्दोलनलाई थप सशक्त र एकताबद्ध बनाउन सकिनेछ ।’ त्यस्तै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, लुम्बेनी प्रदेशका मुख्यमन्‍त्री शंकर पोखरेललगायतले पनि समाजिक संजालमा पार्टी विवादबारे आफ्ना भनाइ राखेका छन्। बीचमा केही शान्तजस्तो देखिएको सत्तारुढ नेकपाभित्र दसैं नसकिँदै आन्तरिक कलह चर्केको हो। प्रधानमन्त्री केपी ओलीसँग पटकपटक सहमति हुँदा पनि बारम्बार धोखा भएकोले अब विश्‍वास गर्ने अवस्था नरहेको विश्लेषण गर्दै प्रचण्ड-नेपालले मोर्चाबन्दी सुरु गरेपछि आन्तरिक झगडा विस्फोटक मोडमा पुगेको हो। खासगरी भदौं २५ को १५ बुँदे ‘युद्धविराम’ लाई वेवास्ता गर्दै संस्थापन पक्ष एकलौटी रुपमा अघि बढ्न थालेको आरोप लगाउँदै प्रचण्ड-नेपाल पक्ष निर्णायक रणनीतिमा जुटेको छ।

पार्टीको निर्णय र सहमतिको उलंघन गर्दै प्रधानमन्‍त्री ओलीले आफूखुसी राजदूतहरु नियुक्त गरेको, मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीभित्र कुनै परामर्श नगरेको, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न उक्साएको, सीमा लगायत विषयमा संवाद ठप्प भएका बेला भारतको गुप्तर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई भेटेर त्यसलाई उपलब्धीका रुपमा प्रचार गरेको र पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका मुकेश चौरसियाको हत्या हुँदा दोषीलाई कारबाही नगर्न दबाब दिएको आरोप लगाउँदै प्रचण्ड-नेपाल पक्ष यतिबेला ओली टिमसँग रुष्ट भएको छ। प्रधानमन्‍त्री ओली र प्रचण्ड-नेपालबीच सार्थक सम्वादका लागि अहिलेसम्म वातावरण बन्‍न सकेको छैन। तर दोस्रो पुस्ताका युवा नेताहरू पार्टी एकता बचाउनका लागि क्रियाशिल देखिएका छन्।

अन्न्पुर्ण पेष्टमा खवर छ

अन्तिम पटक अपडेट गरिएको : November 8th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु