ओलीलाई प्रक्रिया मिलाएर प्रधानमन्त्रीबाट हटाउने योजना

 

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने प्रयास पेचिलो बन्दै गएको छ । उनको सिधै राजीनामा नमागिएपनि पार्टीभित्रको विरोधी समूहले प्रक्रियागत रुपमा हटाउने गृहकार्य थालेको छ ।

ओलीलाई हटाउने योजना अनुरुप नेकपा सचिवालय बैठक डाक्न जोडबल गरिएको छ । यसको उद्देश्य आफूलाई हटाउने भएको बुझेर ओलीले बैठक डाक्न मानेका छैनन् । त्यसैले उनलाई लिखित रुपमा सचिवालयका बहुमत सदस्यले बैठक डाक्न लिखित पत्र दिएका छन् । यसले ओलीमाथि दबाब बढेको छ ।

प्रचण्डसहित पाँचजना सचिवालय सदस्यहरुले दुई दिनभित्र ओलीले बैठक नडाके कडा निर्णय लिने तयारी गरेका छन् । विश्वस्त स्रोतका अनुसार ओलीले बैठक नडाके सचिवालयको बहुमत सदस्य बसेर उनको बारेमा निर्णय लिइनेछ । सचिवालय हुँदै स्थायी कमिटी र आवश्यक परेमा केन्द्रीय कमिटीको बैठक बोलाएर कारबाही सम्मको निर्णय हुनसक्नेछ ।

ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने सम्मको योजना बनेको छ । त्यसका लागि संसदीय दलमा अंकगणितको खेल शुरु भइसकेको छ । ओली पक्षले संसदीय दलमा बहुमतको दाबी गरेको छ । तर, उनीविरोधी पक्षले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको छ । संसदको अधिवेशन सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्र लेखेपछि डाकिने संवैधानिक व्यवस्था छ । हिउँदे अधिवेशनमा अलमल हुने देखिएको छ । त्यस्तो अवस्थामा विशेष अधिवेशन डाक्ने सम्मको प्रयास भएको छ ।

पार्टी र संसद दुवैमा आफूलाई घेराबन्दीमा पार्ने प्रयास भएको बुझेर ओलीले सामना गर्ने बताइसकेका छन् । उनले कुनै हालतमा राजीनामा नदिने दृढता व्यक्त गरेका छन् । ओलीले आफूविरुद्धको घेराबन्दी तोड्न सक्रियता देखाइसकेका छन् ।

प्रकाशित भएको : November 8th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु