प्रचण्ड – माधब समिकरण अपार्कृतिक :हरिबोल गजुरेल

 

सचिवालयले निर्धारण गरेको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी ओली अनुपस्थित हुनुभयो तर बैठकमा पत्रमार्फत आफ्नो सन्देश भने प्रवाह गर्नुभएको छ । अध्यक्ष ओलीले स्वास्थ्य संवेदनशीलताको ख्याल गरेको हो वा बैठकलाई उपेक्षा गरेको ?

स्थायी कमिटी बैठक राख्नुअघि एजेण्डा तय गरौँ भन्ने प्रस्ताव अध्यक्ष ओलीको थियो । उहाँले बैठक केही दिन सारौँ पनि भन्नुभयो । सचिवालयमा बैठक नसारौँ, स्थायी कमिटीबाटै थप एजेण्डा तयार गरौँ भन्ने मत बलियो भएपछि बैठक राखियो । उहाँ असन्तुष्टि जनाउँदै बैठकमा नआनुभएको हो ।

अध्यक्ष ओलीले पत्रमार्फत २६ भदौमा फर्किन र आवेगमा भन्दा विवेकमा निर्णय लिन आग्रहका साथै अपेक्षा पनि राख्नुभएको छ । यो प्रस्तावलाई कसरी लिन सकिन्छ ?

हामी अब २६ भदौमा फर्किने अवस्थामा छैनौँ । स्थायी कमिटीले २६ भदौमा गरेको निर्णयले त समस्याको समाधान गरेन । २६ भदौकै सहमतिमा फर्किने अवस्था भइदिएको भए स्थायी कमिटीको नयाँ बैठकको आवश्यकता नै थिएन । अब स्थायी कमिटीमा बहस र छलफलपछि नयाँ निष्कर्ष निस्कन्छ । पुरानै सहमतिमा फर्किएर हुँदैन ।

नयाँ निष्कर्ष भनेको अध्यक्ष ओलीले दुईमध्ये एक पद छोड्ने हो ?

अहिले त अध्यक्ष ओलीले कुनै पनि पद छोड्दिनँ भन्नुभएको छ । जबर्जस्ती निकाल्न खोजेपछि त्यसको प्रतिवाद उहाँले गरिरहनुभएको छ । सहज वातावरण बन्यो, विश्वासको वातावरण बन्यो, पार्टी र सरकारलाई नयाँ गतिमा लैजान पर्‍यो भन्ने चाहना उहाँमा भयो र नेताहरूले आफ्नो समीक्षा गर्नुभयो भने त्यो पनि असम्भव छैन । मसँगको संवादमा उहाँले मैले राजीनामा दिएँ भने पार्टीमा एकल अध्यक्षको अभ्यास हुन्छ, याे सम्भव पनि छ भन्नुभएको थियो । परिस्थिति बदलिएपछि यो अवस्था आएन ।

अब सरकारको कार्यकाल पनि दुई वर्ष बाँकी छ । पार्टीको महाधिवेशन पनि नजिँकिँदै छ । सरकारलाई नयाँ ढंगले सञ्चालन गर्न र महाधिवेशनको कार्यभार पूरा गर्न विश्वासको वातावरण निर्माण भयो र स्थायी कमिटीले प्रधानमन्त्रीलाई आश्वस्त पार्न सक्यो भने पार्टीमा एउटा अध्यक्ष पनि हुन सक्छ । विश्वासको वातावरण नबनाउने तर गलहत्याएर भए पनि निकाल्छु भन्ने तर्क र तयारीलाई त कसैले पनि मान्दैन । बहुमतको डण्डा लगाएर निकाल्छु भन्दा त अर्कोले प्रतिवाद गर्छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र र पार्टी एकता बचाउनका निम्ति आवश्यकता परेमा पद त्याग्नुपर्छ भन्ने अभिव्यक्ति दिनुभएको छ, यसको सन्देश के हो ?

ओली कमरेडले पत्रमार्फत पार्टी अध्यक्ष र मेरो प्रधानमन्त्री अब अन्तिम हो भन्नुभएको छ । यता अध्यक्ष प्रचण्डले गणतन्त्र र पार्टीको रक्षाका लागि आवश्यक परेमा म अध्यक्ष पद त्याग्न तयार छु भन्नुभएको हो । बैठकमा अध्यक्ष प्रचण्डले ओलीले पद छाड्नैपर्छ भन्नुभएको छैन । आफूले छोड्छु भन्नुभएको हो । पार्टी एकता प्रमुख कुरा हो, पद प्रमुख होइन भनेर उहाँले दिनुभएको सन्देश निकै महत्त्वपूर्ण छ । सबैले यही ढंगबाट सोच्ने र व्यवहारमा समेत कार्यान्वयन गर्ने हो भने पार्टीभित्रका विद्यमान समस्या क्रमशः हल हुँदै जानेछन् ।

पार्टी कमिटीका निर्णयलाई बारम्बार उल्लंघन गर्ने बैठकमा पनि सहभागिता नजनाउने नेताको पद जोगाइराख्नुपर्ने तपाईंहरूलाई के बाध्यता हो ?

नेताहरूका आ-आफ्ना शैली र स्वभाव हुन्छन् । पूर्वएमाले हुँदा पनि आफैँले अध्यक्षता गरेको बैठक बीचमै छोडेर हिँड्नुभएको भन्ने कुरा साथीहरूले सुनाउनुहुन्थ्यो । बैठकमा कहिलेकाहीँ नेता अनुपस्थित हुन सक्छ । यसलाई स्वभाविक रूपमा लिनुपर्छ । ओलीले पटक–पटक बैठकमा अनुपस्थित हुँदा राम्रो सन्देश गएको छैन । तर, स्थायी कमिटीको बैठकमा उहाँले पत्र पठाउनुभएको कुरालाई सकारात्मक रूपमा लिनुपर्छ । अब कसैलाई पनि गलत्याएर निकाल्नु हुँदैन, निकाल्न सकिँदैन । विश्वासको वातावरण तयार भएको अवस्थामा त उहाँले एक पद त्याग गर्ने अवस्था आउँछ ।

आठ महिनादेखि तपाईंहरूको विवाद जारी छ । यो विवाद साम्य नहुनुमा अध्यक्ष ओलीको अहम्, प्रचण्डको महत्त्वाकांक्षा र माधव नेपालको विधिको रटान कारक हुन् वा समस्या अरु केही छ ?

कम्युनिस्टहरूको शक्ति भनेको विचार हो । विचार, नीति, कार्यक्रम, कार्यशैली र आचरणमा जति आफूलाई विकास गर्न सक्यो, कम्युनिस्टहरू त्यति नै अगाडि बढ्छन् । यी कुराको विकास भएन भने गोलचक्करमा फस्छन् । हामीलाई अहिले नयाँ विचार, नयाँ नीति र नयाँ आचरणको आवश्यकता छ । तर, हामी पुरानै ढाँचामा चलिरहेका छौँ । अध्यक्ष ओलीले एमालेलाई जसरी चलाउनुभयो, त्यसैगरी नेकपालाई चलाउन खोज्नुभएको छ ।

अध्यक्ष प्रचण्डले पनि पूर्वमाओवादीकै कार्यशैली देखाउन खोज्नुभएको छ । यता माधव नेपालको पनि पुरानै नीति छ । नयाँ विधि र नीतिका विषयमा नेताहरू कसैको पनि ध्यान गएको छैन । दिएर आफ्नो र खौरेर मसिनो कहिल्यै हुँदैन । पद दिएर मानिसलाई नियन्त्रण गर्न सम्भव नै छैन । विचार र राजनीतिले मानिसलाई नियन्त्रण गर्ने हो । विचार नीतिभन्दा पनि कसले के पाउने भन्ने कुरामा केन्द्रित भएर कुरा बिग्रिएको हो । कसले के पाउने भन्नेमै बहस केन्द्रित हुँदा हाम्रो समस्या समाधान हुन सकेको छैन ।

प्रचण्ड–माधव गठबन्धनको समीकरणलाई कसरी लिनुभएको छ, उहाँहरूको सहकार्य कहिलेसम्म जाला ?

पार्टीमा समीकरण बनाउनु हुँदैन । समीकरण बनाइयो भने नेताहरूको हातखुट्टा बाँधिन्छ । यसले एकअर्काप्रति शत्रुता जन्माउँछ । समीकरणमार्फत पराजित गर्न खोजेपछि मौकामा अर्कोले पनि समीकरण निर्माण गरेर त्यही बाटोमा अघि बढ्छ । यसले पार्टीभित्रको अन्तरसंघर्ष अस्वस्थ बनाउँछ । दुई अध्यक्षबीच छलफलमा बसे पनि उहाँहरूले संवाद गर्ने वातावरण नै हुँदैन ।

हिजो प्रचण्डले भैँसीपाटीमा समीकरण बनाउनुभयो र पछि ओलीले पनि समीकरण बनाउँदा त्यसले पार्टीलाई फुटतिर धकेल्यो । हरेक कुरालाई समीकरणमा छलफल गर्नुपर्ने भएकाले सहमतिको वातावरण नै तयार हुँदैन । अहिलेको समीकरणले प्रचण्डको टाउकोमा एउटा जाँतो, ओलीको टाउकोमा अर्को जाँतो झुन्डिएको अवस्था छ । अन्ततः समीकरणले पार्टीलाई फुटमा पुर्‍याउँछ त्यसैले यो घातक छ । समीकरणका कारण दुवै अध्यक्ष अहिले त्रासमा हुनुहुन्छ । त्रासलाई हटाउँदै विश्वासको वातावरण निर्माण गर्नुपर्छ । यो अवस्थामा मात्रै पार्टीमा एउटा अध्यक्ष र एउटा प्रधानमन्त्री हुने अवस्था आउँछ ।

एक सातासम्मका लागि स्थायी कमिटी बैठक स्थगित भएको छ । यो एक सातासम्म सहमतिका लागि के कस्ता प्रयास होलान् ?

अब यो प्रतिवेदन स्थायी कमिटी सदस्यका हातहातमा औपचारिक रूपमा परेको छ । अब अध्ययनको क्रम सुरु हुन्छ । सहमतिका लागि दुवै अध्यक्षले आ–आफ्ना कार्यशैली र आचरणलाई सुधार्न जरुरी छ । दुवै अध्यक्षले कागजबाट भन्दा पनि व्यवहारबाट जवाफ दिन जरुरी छ । तब मात्र सहमतिको अवस्था आउँला । यो समय उहाँहरूलाई सच्चिनका लागि दिइएको हो । प्रचण्डप्रति उठेका प्रश्नमा उहाँले आफूलाई सुधार्ने र ओलीप्रति उठेका प्रश्नका सन्दर्भमा उहाँले आफूलाई सच्याउने मौका हो यो ।

यो समयसीमाभित्र संयुक्त प्रतिवेदन भन्ने सम्भावना कत्तिको छ ?

दुवै अध्यक्षका प्रतिवेदनका सवालमा सचिवालयले स्थायी कमिटीमा पेस गर्ने निर्णय गर्‍यो । विगतमा पनि नेतृत्व तहमा हल नभएका समस्याहरू स्थायी कमिटीले हल गरेको थियो । अब स्थायी कमिटीमा नयाँ शिराबाट बहस सुरु हुन्छ र नयाँ निष्कर्षसहितको प्रस्ताव आउला । दुवै अध्यक्षका प्रतिवेदनका सकरात्मक कुराहरूलाई समावेश गरेर नयाँ प्रस्ताव आउँछ र यसले नयाँ समाधान दिन्छजस्तो मलाई लाग्छ । अब स्थायी कमिटी पनि असमर्थ भयो भने त बहस पुरानैमा केन्द्रित हुन्छ ।

नयाँ निष्कर्षसहितको प्रस्ताव तयार हुन सकेन भने स्थायी कमिटीमा पेस भएका प्रतिवेदनमाथि मतदान होला वा नहोला ?

हामीले महाधिवेशनसम्म सहमतिमा जाने कुरा गरेका छौँ । दुई अध्यक्ष पनि सहमतिमै राखेका हौँ । यो राख्नुको कारण के हो भने पार्टीभित्र एमालेको ६० प्रतिशत प्रतिनिधित्व भएको ठाउँमा पूर्वमाओवादीको ४० प्रतिशत प्रतिनिधित्व छ । संख्यात्मक रूपमा पूर्वमाओवदी त जहिले पनि अल्पमतमा पर्ने भएकाले सहमतिको अभ्यासलाई सार्थक बनाउने प्रयत्न गरिएको हो । जुन मनशायका साथ सहमतिको निर्णयलाई मान्ने भनिएको थियो, त्यो त जहिले पनि कार्यान्वयनमा हुनुपर्‍यो नि ।

प्रकाशित भएको : December 7th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु