लक डाउन उल्लंघन गर्नेलाई प्रहरीले दुईहात जोडि नमस्कार

 

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि देशभरि लक डाउन गर्‍यो। लक डाउनको महत्व थाहै नभएका वा काम परेर बाहिर निस्केकाहरूलाई प्रहरीले निर्मम व्यवहार गर्‍यो। लाठी हान्यो, मुर्गा बनायो, उठबस गरायो। ग्यास बोकेरै बीच सडकमा बस्न लगायो।

नागरिकमाथि प्रहरीले गरेको उक्त अमानवीय व्यवहारको धेरैले आलोचना गरे कतिले प्रशंसा पनि।

पछिल्लो समय प्रहरीबाट त्यस्ता घटना भएको सार्वजनिक भएको छैन।

बरू शुक्रबारदेखि सामाजिक सञ्जालमा एउटा नयाँ तस्बिरको चर्चा भइरहेको छ। उक्त तस्बिरमा प्रहरी लक डाउन उल्लंघन गर्नेलाई लाठीले हिर्काउँदैनन् बरू दुई हात जोडेर नमस्कार गर्छन्।

मकवानपुरको मनहरीमा प्रहरीले लक डाउन उल्लंघन गर्नेलाई नमस्कार गर्न थालेको हो।

लक डाउनको समयमा अनावश्यक रूपमा बाहिर निस्केर हैरान बनाएपछि प्रहरीले नमस्कार गर्ने तरिका अपनाएको हो।

इलाका प्रहरी र अस्थायी ट्राफिक प्रहरी कार्यालय मनहरीबाट खटिएको संयुक्त टोलीले यस्तो गर्न थालेको हो।

‘लक डाउन भनेपछि प्रहरीले लाठी हान्छ, गाली गर्छ भन्ने गरेको छ,’ सई राम सुन्द्र आर्यले सेतोपाटीसँग भने,’हामीले त्यस्तो गर्ने गरेका छैनौं।’

उनका अनुसार स्थानियवासीहरूलाई माइकिङ गरेर वा सम्झाइ बुझाइ गरे पनि टेरेका थिएनन्।

धेरै भीडभाड हुने ठाउँमा कार्यालयबाट खटिएका पाँच जनाको टोली गएर नमस्कार गर्ने गरेको छ। उनीहरूले त्यहाँ आएका व्यक्तिरूलाई लक डाउन उल्लंघन नगर्न र यसको फाइदाबारे जानकारी गराउने गरेका छन्।

‘हामीले माकिङ पनि गरेका थियौं हुई हप्तासम्म तर अहँ टेरेनन्,’ उनले भने, ‘हुँदै नभएपछि हामीले यस्तो गर्न थालेका हौं।’

नमस्कार गरेको हप्ता दिन पछि भने परिवर्तन भएको उनी बताउँछन्।

‘हामीले राम्रो भाषा प्रयोग गरेर त्यसो गर्दा भने परिवर्तन भने आएको छ है,’ उनले भने,’मान्छेहरूले पनि बुझेका छन् अहिले पहिलेको तुलनामा बाहिर आउनेको संख्या कम भएको छ।’

यसअघि प्रहरीले लक डाउन उल्लंघन गर्नेलाई प्रहरीले लाठी हान्ने, ग्यास बोकाएको, उठबस गराएको र मुर्गा बनाएको घटना बाहिरिएपछि आलोचना भएको थियो।

News Source

प्रकाशित भएको : April 10th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु