रास्ट्रिय सभामा पनि गुम्यो ओलीको बहुमत

 

१७ पुस, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि राष्ट्रिय सभामा सरकारलाई विधेयक पास गर्नै गाह्रो पर्ने भएको छ । ओली समूहलाई विधेयक पास गर्न आवश्यक संख्या राष्ट्रिय सभामा नपुग्ने भएकाले सरकारले राष्ट्रियसभामा बहुमत गुमाएको छ ।

राष्ट्रिय सभामा ५९ जना सदस्य रहन्छन् । यसमा कांग्रेसका ६ जना छन् । जसपाका तीनजना सदस्य छन् । मनोनित सांसद तीनजना छन् । अध्यक्ष र उपाध्यक्षलाई समेत जोड्दा राष्ट्रिय सभामा नेकपाका ४७ जना सदस्य छन् । मनोनित तीनजना पनि नेकपाबाटै गएका हुन् । यसरी हेर्दा नेकपाका सदस्य ५० पुग्छन् । ५० मा ओली समूहका २५ र प्रचण्ड–नेपाल समूहका २५ जना छन् ।
यो अवस्थामा प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा संकटकालको प्रस्ताव पारित गराउन चाहिने दुईतिहाइ बहुमत त पुर्‍याउन सक्दैनन् नै, सरकारी विधेयकहरु पारित गर्नका लागि सामान्य बहुमत पनि ओली सरकारसँग पुग्दैन । राष्ट्रियसभामा सामान्य बहुमतका लागि ३० सांसद भए पुग्छ । तर, यो संख्या पनि ओली समूहसँग छैन ।
प्रतिनिधि सभा विघटनको विरोधमा रहेको प्रमुख विपक्षी नेपाली कांग्रेस र जसपाले ओलीलाई साथ दिने सम्भावना तत्काल छैन ।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलका अनुसार राष्ट्रिय सभामा विभिन्न १६ वटा विधेयकहरु विचाराधीन छन् । ६ वटा दर्ता भएर मात्रै रहेका छन् भने बाँकी १० वटा विधेयक सभा र समितिमा छन् ।
यी विधेयकहरु पारित गर्न ३० भन्दा बढीको बहुमत चाहिन्छ ।

प्रकाशित भएको : January 1st, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु