धन्यवाद नेपाल प्रहरी ! प्रहरीले दियो सुत्केरीको डेरामै पुगेर राहत

 

सिन्धुपालचोककी सविता डुम्रे दुई बालबालिका र श्रीमानसँग खुमलटारमा बस्छिन्।

केही साताअघि उनी सुत्करी भइन्। ज्याला मजदुरी गर्ने श्रीमान् काम छोडेर उनको स्याहारमा लागे।

श्रीमान् घरमै बसेका बेला लक डाउन भयो। त्यसपछि सबै काम रोकियो।

जम्मा गरिएका रकम पनि रित्तिदै थियो। घरमा भएको खाद्यान्न सकिँदै थियो। दुई बालबालिकालाई पनि पाल्न गाह्रो भएपछि उनले प्रहरीलाई राहत माग्दै फोन गरिन्।

‘म सुत्केरी भएपछि श्रीमानले काममा नगई मलाई स्याहार्दै हुनुहुन्थ्यो,’सबिता डुम्रेले भनिन्,’पछि एक्कसी लकडाउन भयो पैसा पनि सकियो त्यसैले प्रहरीलाई फोन गरें।’

लक डाउनपछि अति विपन्न, असहाय, अपाङ्ग, दैनिक ज्यालादारी व्यक्ति तथा परिवारलाई राहत दिने जिम्मा सरकारले स्थानीय तहलाई दिएको छ। तर विभिन्न प्रकृया पूरा गर्नुपर्दा कतिपयले यसलाई झन्झटिलो मानेका छन्।

कतिपयको कसैले फारम समेत भरिदिन्न र राहत दिने कुरा समेत थाहा पाउँदैनन्।

त्यस्ता व्यक्तिहरूलाई भने प्रहरीले राहत दिने गरेको छ।

सविताले फोन गरेपछि महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी मित्र बन्धु शर्मा उनले उनको डेरा पत्ता लगाए। पाँच किलो चामल, एक किलो दाल, चिउरालगायतका खाद्यान्न दिएर फर्किए।

‘केही दिनअघि हामीलाई सुत्केरी बिहिनीको फोन आएको थियो,’एसएसपी टेकप्रसाद राईले सेतोपाटीसँग भने,’हामीले अरू केही सोधीखोजी गर्न जरूरी नठानी भोलिपल्ट खाना पुर्‍याउन लगायौं।’

वडाबाट दिइने राहतका लागि केही समय लाग्ने भएकाले प्रहरीले तत्कालै राहत दिने गरेको एसएसपी राई बताए।

सविताको परिवारलाई प्रहरीले दिएको खानेकुरा सकिन लागेको छ। उनलाई फेरि पीर थपिएको छ-बालबच्चालाई के खुवाउने होला भनेर।

‘वडाबाट पनि दिने भनेका थिए अहिलेसम्म पाएका छैनौं,’उनले भनिन्,’अस्ति पुलिस सरहरूले दिएको पनि सकिनै लागेको छ। त्यसपछि के गर्ने हो थाहा भएन।’

प्रहरीले राहत दिने थाहा पाएसँगै त्यहाँ राहतको माग राख्दै फोन गर्नेको संख्या पनि बढेको छ।

प्रहरी कार्यालयमा दैनिक खाद्यान्नको माग राख्दै फोन आए पनि अति आवश्यक पर्नेहरूलाई मात्रै दिने गरेको छ। तर कसैले भने अनावश्यक रूपमै पनि खाद्यान्नको माग राख्ने गरेको एसएसपी राई बताउँछन्।

‘हिजो मैले एक जनालाई आवश्यक परेको हो कि भनेर आफैंले फोन गरें,’ उनले भने, ‘तर उल्टै मान्छे मरेपछि दिने हो राहत भन्यो। त्यस्तो हिम्मत त नगर्न पर्ने के रहेछ बुझ्न जानु भनेर हेरेको त पछि जाँड खाएको रहेछ।’

ती व्यक्तिको घरमा सम्पूर्ण चाहिने खाद्यान्न समेत रहेको बताए।

Setopati

प्रकाशित भएको : April 10th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु