सांसद खरिद बिक्री हुन्छन :प्रदीप ज्ञवाली

 

परराष्ट्र मन्त्री एवं नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुन:स्थापनापछि संसदमा सांसदहरूको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन्।

नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरूको नीतिविहीन गठबन्धन हुँदा प्रतिनिधिसभा सांसदहरूको खरिद विक्री हुने थलो बन्ने खतरा बढेको बताएका हुन्।
उनले प्रतिनिधिसभा पुन:स्थापना भएपछि यस्तो खतरा बढेको बताए।
उनले भने, ‘हामी संविधानको सर्वोच्चता भन्ने शक्तिहरू हौं। हामी विधिको शासनमा विश्वास गर्ने शक्तिहरू हौं। हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्तिहरू हौं। न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मन्जुर छ। हामी त्यसलाई कार्यान्वयन गर्छौं। तर कतै फेरि संसद सांसदहरूको खरिद विक्रीको थलो बन्ने त होइन ? कतै सांसद फेरि दलहरूको नीतिहीन गठबन्धनको थलो बन्ने त होइन ?’
मन्त्री ज्ञवालीले देशभित्रको राजनीतिको गलत प्रभाव अर्थतन्त्र र व्यवसायमा पर्न थालेको पनि बताए।
सरकारले पछिल्लो तीन वर्षमा हासिल गरेको उच्च आर्थिक वृद्धिका कारण देश अहिले अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन सिफारिस भएको उनले बताए।
गत वर्ष कोभिडको धक्काका कारण आर्थिक वृद्धि कमजोर भए पनि ऋणात्मक नहुनु सकारात्मक भएको पनि उनले बताए।
तीन वर्षसम्म उच्च आर्थिक वृद्धि हासिल हुँदा नेपाल डुइङ बिजनेस इन्डेक्समा एकैपटक १४ स्थान माथि उक्लिन सफल हुनुले सरकारले आर्थिक विकासमा सही काम गरिरहेको छ भन्ने पुष्टि भएको पनि उनले बताए।

प्रकाशित भएको : February 27th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु