ओलि बाहेक को सरकार हाम्रो प्राथमिकता :कांग्रेस

 

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट सांसदहरुले नै सरकारमा जानुपर्ने बताएका छन् । तर असंवैधानिक रुपमा संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिन नसकिने प्रष्ट मत राखेका छन् ।

पर्ख र हेरेको अवस्थामा रहेका सभापति देउवाले ल्होत्से हल, नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा फागुन २३ गते सुरु हुने संसदमा कसरी प्रस्तुत हुने भनेर राय मागेका थिए । त्यसपछि २९ सांसदले धारणा राखेका छन् ।
देउवा निकट मानिएका सांसदहरु भरतकुमार शाह, देवेन्द्रराज कँडेल, डिला संग्रौलालगायतले सरकारमा जानुपर्ने मत राखेका छन् । प्रतिपक्षमा बस्नुपर्छ भन्ने पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतको तर्कतर्फ संकेत गर्दै उनीहरुले अहिले सरकारमा नजाने हो भने पार्टीको एकल बहुमत आउँदा बाहेक कुनै पनि सरकारमा नजाने निर्णय गर्न सक्नुपर्ने बताएका छन् ।
आम चुनाव आउन अझै २ वर्ष बाँकी रहेको र यो अवधिमा राम्रो काम गर्न सकिने भन्दै उनीहरुले कांग्रेसकै नेतृत्वमा सरकार बनाउन पहल गर्नुपर्ने धारणा राखेका छन् ।
कतिपयले त कांग्रेसले नै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने धारणाा राखेका छन् । उनीहरुमध्ये एक नवलपरासीका सांसद कँडेलले भन्छन्, ‘कांग्रेसले नै अविश्वास प्रस्ताव लैजानुपर्छ र आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्छ । नेकपाको कुनै पक्षको नेतालाई प्रधानमन्त्री मान्नुहुन्न ।’
सांसद शाहले पनि शुक्रबारको बैठकमा बोल्नेमध्ये अधिकांशको मत ओलीलाई हटाउनैपर्छ भन्ने रहेको बताए । उनले अघि भने, ‘नेकपा एकै रहेर उनीहरुकै सरकार बनाउँछन् भने ठीकै छ । होइन, फुट्छ भने ओलीलाई हटाएर उसैसँग जान हुन्न ।’
संसदीय दलको बैठकमा सांसद गगनकुमार थापाले भने संसदीय दलको बैठकबाट प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने बताए । अहिलेको मुख्य मुद्धा सरकार बदल्नु भएको भन्दै उनले भने, ‘प्रधानमन्त्रीको राजीनामा माग्नुपर्छ, राजीनामा नदिए हटाउन अग्रसरता लिन्छ भनेर जाऊँ र अग्रसरता लिन नेताहरुलाई छाडौं ।’
यद्यपि आफ्नो व्यक्तिगत राय भने राजनीतिक निकास दिने तर, सरकारमा नजाने भएको थापाले सुनाए ।
थापाले प्रधानमन्त्रीको राजीनामा माग्नुपर्छ भनिरहँदा सभापति देउवाले भने ‘राजीनामा त प्रचण्डहरुले मागिरहेका छन्, हामी पनि तिनका पछाडि लाग्ने ?’ भनेका थिए ।

प्रकाशित भएको : March 6th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु