अमेरिकामा कोरोनाबाट २० हजारभन्दा बढीको मृत्यु , पछिल्लो २४ घण्टामा १ लाख बढी संक्रमित

 

कोरोना भाइरस (कोभिड–१९) को कारण विश्वभरी मृत्यु हुनेको संख्या १ लाख ८ हजार ८ सय २२ पुगेको छ ।

संक्रमितको संख्यापनि १८ लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा १ लाख बढी नयाँ संक्रमित देखिएका छन् ।

यसमापनि अमेरिकामा मृत्यु हुने मानिसको संख्या २० हजार नाघेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म यो भाइरसको कारण २० हजार पाँच सय ७ जना मानिसको मृत्यु भइसकेको छ ।

अमेरिकाको न्युयोर्क राज्यमा मात्र आठ हजार छ सय ३८ जनाको मृत्यु भइसकेको छ ।

न्युयोर्कमा समग्र संक्रमितको संख्या पनि एक लाख ८१ हजार नाघेको छ ।

यससँगै अमेरिकाले कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुनेमा इटालीलाई पछि पारेको छ ।

इटालीमा अहिलेसम्म यो भाइरसको कारण १९ हजार चार सय ६८ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि पाँच लाख २७ हजार नाघेको छ ।

अमेरिकामा अहिलेसम्म ३१ हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् ।

चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वभर १७ लाख ७३ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने एक लाख आठ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

प्रकाशित भएको : April 12th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु