
पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।
भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो ।
जसमध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको र पुनः परीक्षणका लागि टेकु पठाइएको हेटौंडा स्थित प्रयोगशालाका प्रमुख नारायण कार्कीले जानकारी दिए ।
हेटौंडाको प्रयोगशालाले त्यो जानकारी नारायणी अस्पताललाई पनि गराएको थियो ।
त्यसलगत्तै वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।
संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए ।
उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।
सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् ।
मार्च ४ तारिकमा रिटर्न ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरु रोकिएका थिए ।
लकडाउन खुलेपछि घर फर्कन भनी उनीहरुले १५ अप्रिलका लागि टिकट काटेका छन् ।
घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर उनीहरु आफैं नारायणी अस्पतालमा पुगेको मस्जिदका मौलाना अलि असगरले बताए ।
‘लकडाउनको समयमा उहाँहरु मस्जिदमा आउनुभएको हो ।
त्यही बेला प्रहरीसँग समन्वय गरेर हामीले बेग्लै राखेका थियौं’ मौलना असगरले भने ‘छुट्टै राखिएकोले उहाँहरुसँग धेरै कुराकानी पनि भएको छैन ।
घर जाने बेलामा एक पटक स्वास्थ्य जाँच गराउनु उपयुक्त हुन्छ भनेर अस्पताल जानुभएको हो ।’
त्यसपछि अस्पतालमा जाँच भएको तर रिपोर्ट आइनसकेको जानकारी आफूले पाएको उनले बताए ।
प्रतिकृया दिनुहोस्