विश्वलाई खुसिको संदेश : बेलायती प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

 

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण लण्डन अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्यमा सुधार भएसँगै आइतबार डिस्चार्ज भएको उनको कार्यालयले बताएको छ ।

उनको कार्यालयका प्रवक्ताले दिएको जानकारी अनुसार अहिले जोन्सनलाई उपचार गराइरहेका डक्टरहरुले उनलाई तत्काल काममा भने नफर्किन सुझाव दिएका छन् ।

जोन्सनले आफ्नो उपचारमा सहयोग सबैलाई धन्यवाद दिएका छन् । गत आइतबार अस्पताल भर्ना भएका जोन्सनलाई सोमबार आईसीयूमा भर्ना गरिएको थियो । स्वास्थ्यमा क्रमिक सुधार आएसँगै उनलाई बिहीबार आईसीयूबाट वार्डमा सारिएको थियो ।

क्वारेन्टाइनमा रहेका भारतीयमाथि नेपाली सेनाको निगरानी

वीरगन्जको सिद्धार्थ माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा राखिएका भारतीयहरूमाथि नेपाली सेनाले निगरानी गरिरहेको छ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले विपद्का बेला नेपाली सेना परिचालन हुन सक्ने व्यवस्थाअनुसार सिद्धार्थ माविमा सेनालाई पठाइएको बताए।

‘अहिले त्यहाँ सेनाले पनि निगरानी गरिरहेको छ,’ उनले भने।

पर्सा प्रशासनले शुक्रबार र शनिबार छपकैया र घुसुकपुरका मस्जिदमा बसेका भारतीयहरूलाई क्वारेन्टाइनमा पठाएको थियो।

यसअघि छपकैयाको मस्जिदमा बसेका २४ जनामा कोरोना छ कि छैन भनेर स्वाब परीक्षण गरिएको थियो।

तीमध्ये तीन जनाको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको छ।

उनीहरूलाई अहिले नारायण उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ।

कोरोना संक्रमित देखिएपछि छपकैया सिल

प्रदेश-२ सरकारले वीरगञ्ज महानगरपालिका छपकैयामा भारतबाट आएर बसेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि उक्त क्षेत्रलाई पूर्ण रूपले सिल गर्ने निर्णय गरेको छ।

मस्जिदमा बसेका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण फेला परेपछि थप व्यक्ति संक्रमित हुन सक्ने अवस्था आउन नदिन प्रदेश-२ को सरकारले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका ३ छपकैयास्थित मस्जिद र उक्त आसपासको क्षेत्रलाई पूर्ण रूपले सिल गर्ने निर्णय गरेको हो।

उक्त क्षेत्रमा आवतजावत समेत बन्द गर्दै उक्त क्षेत्रका व्यक्तिहरूको कोरोना परीक्षण गर्ने कामलाई तीव्रता दिइएको समाजिक विकास मन्त्रालय प्रदेश नं.२ का सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए।

छपकैयास्थित एक मस्जिदमा बस्दै आएका २४ जनाको स्वाब परीक्षण गर्दा त्यसमध्ये तीन जना भारतीयमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो।

 

अन्तिम पटक अपडेट गरिएको : April 18th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु