सुत्केरी गराउन अस्पताल लैजाँदै गर्दा हेलिकप्टरमै गयो ज्यान

 

बुटवलबाट बाग्लुङ माइत गएकी थिइन्, ३३ वर्षीय भिमा पाण्डे। उनी गर्भवती थिइन्।

सुत्केरी हुने समय नजिकिँदै थियो। अचानक लकडाउन भएपछि भिमा माइतबाट घर फर्किन पाइनन्।

उनको सुत्केरी हुने दिन नजिकिँदै गयो, लकडाउन लम्बिँदै गयो।

सुत्केरी ब्यथाले चापेपछि उनलाई आफन्तहरूले सोमबार ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याए।

उनको अवस्था जटिल थियो, ढोरपाटनमा सुत्केरी गराउन नसकिने अवस्था आएपछि पोखरा लैजान हेलिकप्टर मगाइयो।

‘भिमाको पाठेघरभन्दा बाहिर नलीमा बच्चा बसेको थियो’, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले भने, ‘नली फुटेरभित्रै रक्तस्राब भयो, तुरून्त अपरेसन गरेर पेट सिलाउनुपर्ने अवस्था आयो।’

हेलिकप्टरबाट भिमालाई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगियो।

अस्पताल पुर्‍याउने बित्तिक्कै भिमालाई चिकित्सक टोलीले मृत घोषणा गरिदियो। चिकित्सकका अनुसार उनको निधन हेलिकप्टरमै भएको थियो।

अस्पतालमा भिमाका श्रीमान र भाइ पनि साथै गएका थिए।

१ छोरा र १ छोरीकी आमा भिमाले तेस्रो सन्तान जन्माउन जाने क्रममा हेलिकप्टरमै निधन भएको डा. मल्लले बताए।

अन्तिम पटक अपडेट गरिएको : April 18th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु